गण्डकीको बजेट ३३ अर्ब ४२ करोड

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो अघिल्लो वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो ।

चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत बजेट विनियोजन भएको छ । भने पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेछट छुट्याइएको आलेले धोषणा गरे ।

विगत वर्ष जस्तै यस वर्ष पनि सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएको छ । घाटा बजेट आन्तरिक ऋणबाट पूर्ति गर्ने र त्यसका लागि कानुनी व्यवस्था मिलाइने उनले बताए ।

सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ । आगामी वर्ष १.५ प्रतिशत प्रदेश सञ्चिति कोषमाथि व्ययभार पर्ने अनुमान गरेको अर्थमन्त्री आलेले बताए ।

आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोडको अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, सशर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले प्रस्तुत गरे ।

प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान अर्थमन्त्री आलेको छ ।

  • १ असार २०८०, शुक्रबार १८:२५ प्रकाशित