यी प्रदेशमा हिउँदमा औसतभन्दा धेरै पानी पर्ने, कस्तो असर पर्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

जलवायु परिवर्तनको कारण यसवर्ष हिउँदमा पनि औसत भन्दा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

प्रदेश नं १, २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लामा हिउँदमा अघिल्ला वर्षहरुमा भन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सरदरभन्दा बढी वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलले बताएकी छिन् ।

उनको अनुसार यद्यपि मौसम पूर्वानुमानसम्बन्धी औपचारिक विवरण सार्वजनिक गर्न अझै केही साता लाग्नेछ ।वर्षाको दृष्टिकोणले यसपालिको हिउँद गत वर्षको जस्तो नहुने देखिएको अर्की मौसमविद्‌ पनि बताउँछिन् ।।

गत वर्ष त लगभग छ महिना पानी नै परेन, तर यो वर्ष त्यस्तो हुने देखिँदैन,’जल तथा मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ प्रतिभा मानन्धरले भनिन्,‘जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको पोस्ट–मनसुनु र हिउँदमा पनि राम्रै वर्षा हुने गरेको धेरै वर्षको हाम्रो अध्ययनले देखाउँछ।’

नेपालसहित आठ देश संलग्न साउथ एशियन क्लाइमेट आउटलुक फोरमले यो क्षेत्रमा हुने ऋतुगत वर्षा र तापक्रमबारे आकलन गर्ने गरेको छ।
वरिष्ठ मौसमविद्‌ कँडेलका अनुसार नेपालमा ६६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मान्ने गरिएको छ।

हिउँदे पानीले कस्तो असर पर्ला ?

अहिले पोस्ट–मनसुनमा असामान्य पानीले बालीनालीमा क्षति पुर्‍याए झैँ हिउँदमा ठूलो वर्षा भएमा त्यसले पनि नकारात्मक असर पुर्‍याउने विज्ञहरू बताउँछन्।

ूहिउँदे तरकारी, गहुँ र मुसुरो धेरै पानी सहन नसक्ने बाली हुन्। यदि हिउँदमा धेरै पानी पर्‍यो भने यी बालीलाई क्षति पुग्न सक्छ, कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद्‌ महादेवप्रसाद पौडेलले भने।

यसपालि हिउँदमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले सोहीअनुरूप तयारी गर्न र रणनीति अपनाउन मौसमविद्ले किसानहरूलाई आग्रह गरेका छन ।

यो साता परेको ठूलो पानीका कारण कतिपय ठाउँमा काटिसकिएका धान खेतमै कुहिएका छन् भने काट्न बाँकी धानहरू नष्ट भएका छन् ।
यो वर्ष अक्टोबर महिनामा सन् २००९ पछिका अक्टोबरमध्ये सबैभन्दा धेरै वर्षा भएको तथ्यांकले देखाएको छ। स्रोत बीबीसी

  • ५ कार्तिक २०७८, शुक्रबार १६:२४ प्रकाशित