गोविन्द सुवेदी,
पोखरा ।
शिशु निकेतनबाट एसईई दिएर बसेका पोखरा ५ का स्वभाव सुनार विहान सबेरै हस्र्याङ फस्याङगर्दै पोखरा-४ गैह्रापाटनमा रहेको नवीन माविमा पढ्न आउँछन् । कक्षा ११ मा साइन्स विषय लिने योजना बनाएका उनले त्यसका लागि तयारी कक्षा (बृज कोर्स) पढ्न यसरी आउने गरेका हुन् । सिद्धार्थचोकमा रहेको लिड्स एजुकेशन एकेडेमीमा भर्ना भएका उनी यसरी दैनिक पढ्न आउने गरेका हुन् ।
पोखरा-४ मा रहेको कुमुधिनी होम्स बाट एसईई दिएका पोखरा-११ फुलबारी बस्ने जस्मिन दाहाल र प्रिन्सी बस्नेत पनि फूलबारीबाट त्यसरी नै बृज कोर्स पढ्नका लागि नवीन मावि आउने गर्छन् । एसईईको रिजल्ट नआउने बेलासम्म पढाउने भनेर लिड्स एजुकेशन एकेडेमीले उनीहरुसंग ११ हजार रुपैयाँका दरले बुझीसकेको छ ।
जस्मिन र प्रिन्सीका अनुसार कुमुदिनी होम्स आँफैले मासिक ४ हजार लिएर बृजकोर्ष पढाएको छ । तरपनि आफूहरु लिड्समा राम्रो पढाई हुन्छ भनेर आएको उनीहरुले जानकारी दिए । ‘बृज कोर्स हाम्रो स्कुल (कुमुदिनी होम्स) मा पनि बढाउनुहुन्छ । त्यहाँ ४ हजारमै पढाउने भएपनि यहाँ (लिड्स)मा राम्रो हुन्छ भनेर आएका हौं । यहाँ ११ हजार रुपैयाँका दरले हामीले बुझाएका छौं । यसमा हामीले किताव पनि पाएका छौं ।’ जस्मिन र प्रिन्सीले भने ।
स्वभाव, जस्मिन र प्रिन्सी मात्र होइन यसरी एसईई दिएर बसेका झण्डै ४ सय विद्यार्थी नवीन माविमा बृज कोर्ष पढ्न विहान ६ बजे अगाडि नै आइपुग्छन् । लिड्सले मासिक २ लाख रुपैयाँ दिनेगरी आफ्ना विद्यार्थी विहान नवीनमा पढाउने सहमति गरे अनुरुप नवीनमा ल्याएर विद्यार्थी पढाएको नवीन माविका प्रधानाध्यापक शिरोमणि लामिछानेले केन्द्र खबरलाई जानकारी दिए ।
पोखरा महानगरले २४ चैतमा महानगर भित्र बृज कोर्स खारेज लगायतका विभिन्न निर्णय गरेको थियो । बृज कोर्ष सञ्चालन गरे नियम अनुसार कारबाही गर्ने समेत जानकारी गराएको थियो । महानगरले ढिलो गरि निर्देशन दिएकाले आफूहरुले कक्षा सञ्चालन गरेको लिड्स एजुकेशन एकेडेमीका सञ्चालक राकेश जोशीले केन्द्रखबरसंग बताए ।
उनले महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यसहितको टोलीले बिचमा अनुगमन पनि गरेको तर महानगरले ढिला निर्णय गरेकाले कार्यान्वयन गर्न समस्या रहेको आफूले सुनाएको उनले जानकारी दिए । ‘हामीले पहिलेबाट नै बुकिङ लिइसकेका हुन्छौं । सबै तयारी गरेका थियौं । महानगरले ढिलागरी निर्णय गर्यो । हामीले कक्षा सञ्चालन गरिसकेपछि शिक्षा महाशाखा प्रमुखसहितले अनुगमन पनि गर्नु भएको हो । हामीले महानगरले ढिला निर्णय गर्दा कार्यान्वयन गर्न सकेनौं भनेका हौं’ उनले भने ।
न्युरोड र गैह्रपाटनमा सञ्चालनमा रहेको अलब्राइट एकेडेमीले पनि यसरी नै झण्डै ४ सय विद्याथीलाई बृज कोर्स पढाइरहेको छ । अलब्राइटका सञ्चालक राजकुमार श्रेष्ठले नर्सिङ र अन्य विषयका लागि पनि पढाएको भएपनि आफ्नो एकेडेमीमा ३०० को हाराहारीमा विद्यार्थीले बृज कोर्स पढेको बताए ।
लिड्स र अलब्राइटले मात्र होइन वेष्ट एकेडेमी न्युरोड, इन्टेल इन्स्टिच्युट, साइन इन्सिच्युट र फेम इन्टरनेस्नल एकेडेमी लगायत दर्जनभन्दा बढी संस्थाले अहिले निर्वाध रुपमा पोखरा महानगरको निर्देशनको वास्ता नगरी बृज कोर्सका कक्षाहरु सञ्चालन गरिरहेका छन् । साथै केही निजी विद्यालयहरुले समेत विद्यार्थीसंग पैसा लिएरै तयारी कक्षा सञ्चालन गरेका पाइएको छ ।
इन्टेल इन्सिट्युटका सञ्चालक अनिलमणि भण्डारीले आफूकहाँ आएका विद्यार्थीलाई काठमाडौं जाउ या घरमै बस भनेर भन्न नसकेर पढाएको प्रतिक्रिया दिए । ‘महानगरले तरंग ल्याउन मात्र निर्णय गरेको देखियो । रोक्नै चाहेको भए रोकिन्थ्यो । अर्को कुरा पोखरालाई शैक्षिक हव बनाउन बृज कोर्सले महत्वपूर्ण योगदान दिएको छ । तर महानगरले के आधारमा यो निर्णय गरेको हो, त्यो नै थाहा भएन’ उनले भने, ‘पढ्न आफै आएका विद्यार्थीलाई काठमाडौं जाउ या घरै बस भन्न सकिएन र पढाइएको छ ।’
वेष्ट ऐकेडेमीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले प्राइभेट कलेजको द्वन्द्वमा महानगर प्रवेश गर्न हुने थिएन’ भनेका छन् । सबैले बन्द गरे आफू तत्काल बन्द गर्न तयार रहेको उनले बताए
शिक्षा महाशाखा प्रमुख आचार्य भन्छन्, ‘यस विषयमा अहिले बोल्न सकिएन’
पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बृज कोर्स सञ्चालनको विषयमा जवाफ दिन मानेन् ।
सुरुमा अनुगमन गर्दा वृज कोर्स नपढाएको र बीचमा आफूहरुले अनुगमन नगरेको बताएका उनले महानगरको निर्देशन कार्यान्वयन भएको पाइएन अब के हुन्छ भन्ने जिज्ञासा राख्दा यसको जवाफ शिक्षा समितिले दिने प्रतिक्रिया दिए । ‘वृज कोर्स नचलाउ भनेको हो । सुरुमा अनुगमन पनि गरियो । चलाएका थिएनन् । त्यसपछि अनुगमन गरिएन ।
अब अहिले चलाएको भए त्यसमा के गर्ने भन्ने कुरा शिक्षा समितिलाई नै सोध्नुहोस् ।’ उनले केन्द्रखबरसंग भने, ‘यो विषयमा शिक्षा समितिको बैठक नबस्दासम्म केही बोल्न सकिएन ।’