पोखरा ।
पोखरामा तीन दिने नेपाली नाटक : प्रथम अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । आयोजक नेपाल नाट्यप्रतिष्ठान, पोखराको अयोनजनामा यही बैशाख २८, २९ र ३० गते सेमिनार हुन लागेको हो ।
प्रतिष्ठानले आइतबार पोखरामा पात्रकार सम्मेलन गरेर सेमिनार वारे जानकारी दिएको छ ।
सेमिनारमा नेपालर भारतबाट करिब एक सय १७ जनाले सहभागीता जनाउने प्रतिष्ठानका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । नेपाल वाहेक भारतका असम, सिलगुढी, दिल्ली, दार्जलिङगबाट नाट्य क्षेत्रका दिग्गज व्यक्तीहरुको सहभागीता रहने पोखरेलले पत्रकार सम्मेलनमा बताए । भारतबाट सीपी शर्मा, केबी नेपाली, खेम सापकोटा लगायतका श्रष्टा सहभागी हुने छन् ।सेमिनारमा नेपाल र भारतका श्रष्टाले २० भन्दा बढि कार्यपत्र प्रस्तुत गर्ने छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहल बगरमा तीन दिनसम्म हुने सेमिनारबाट निस्केको निष्कर्षलाई करिब चार सय पेजमा प्रकाशित गर्ने आयोजकको योजना छ ।
सेमिनारमार्फत नेपाली नाटक र भारतीय नेपाली नाटकका सम्बन्धमा गहन छलफल गरी त्यसबाट निस्केको निस्कर्षलाई प्रकाशित गर्ने, विगतको नेपाली नाटक र रङ्गमञ्चको सम्यक विश्लेषण गरी समसामयिक नेपाली नाटक र रङ्गमञ्चका सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउने सेमिनारको उदेश्य रहेको छ ।
साथै नेपाली र भारतीय नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध स्थापित गर्ने, २०८० सालमा बालकृष्ण समका सम्पूर्ण नाटक र अशेष मल्लका नाटक– नाट्यग्रन्थ प्रकाशित गर्ने, सम्भव भएसम्म प्रकाशित नाट्यग्रन्थलाई अङ्ग्रेजी भाषमा अनुवाद गरी प्रकाशन गर्ने सेमिनारको उदेश्य रहेको छ ।