बेमौसमी बर्षाले बाढी वितण्डाः हालसम्म ३१ को मृत्यु, २२ घाईते, ४३ बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं।
बमौसमी वर्षाले आएको बाढीले देशका विभिन्न जिल्लामा वितण्डा मच्चाएको छ ।

केही दिनदेखिको भारी वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिएको छ । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसुरीमा २, कालीकोटमा १, डडेलधुरामा १ सहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिए । उनले पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३, कैलालीमा ४ सहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७ सयको उद्दार गरिएको छ ।

प्राप्त विवरणमा बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • ३ कार्तिक २०७८, बुधबार १३:०८ प्रकाशित