पोखरा ।
पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सको शुक्रबार महानगर प्रमुख धनराज आचार्यले उद्याटन गरे । कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले उक्त एम्बुलेन्स संचालनमा ल्याइएको र यसले कृषकलाई प्रोत्साहन मिल्ने आचार्यले बताए ।
एम्बुलेन्स सेवा प्रभावकारी भएमा थप एम्बुलेन्स संचालनमा ल्याउने सकिने छ, आचार्यले भने, एम्बुलेन्सको प्रयोग हेरेर थप एम्बुलेन्स आवश्यकता भए ल्याउन सकिने छ । ३६ लाख रूपैयाँ लागतमा महानगरले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
महानगर वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले ३३ वटै वडाका कृषले यो एम्बुलेन्सको प्रयोगबाट फाइदा लिन सक्नुपर्ने बताए । एम्बुलेन्सको अधिकतम प्रयोग गरेर व्यवसाय प्रवद्धन र मुनाफा कमाउन समेत अनुरोध गरे । कार्की महनगरले कृषकलाई अनुदान र सहयोग गरिरहेको पनि बताए ।
एम्बुलेन्समा माइनस १५ डिग्रीसम्मको चिस्यान कायम गर्न सकिन्छ । किसानको माग अनुसार उक्त तापक्रममा फलफूल, तरकारी, मासुजन्य पद्धार्थ लगायतका कृषिजन्य बस्तुको ओसारपसार गरिने छ ।
महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले गाउँमा उत्पादन भएको तरकारी लगायतका छिटो नष्ट हुने कृषि उपजको ढुवानीमा एम्बुलेन्सले प्रयोग हुने बताए ।
कृषि उत्पादनलाई माग भएको ठाउँमा पुर्याइने उनले बताए । महानगरले ढुवानी गरेबापत लाग्ने शुल्क भने छिट्टै निर्धारण गरिने बताएको छ ।














