पोखरा ।
पोखराको पृथ्वीचोक देखि प्रारम्भ हुने काठमाडौं जोड्ने पृथ्वी राजमार्गको प्रारम्भ स्थल चाइनापुल साँघुरो हुँदा अहिले पोखरा रंगशालाको गेट अगाडिको भागसम्म नै सवारीको चाप धेरै हुन्छ । पृथ्वीचोक देखि पुलसम्मको बाटो फराकिलो छ तर, पुल दुई लेनको मात्र छ । जसका कारण रंगशालामा कुनै खेलकुद प्रतियोगिता हुँदा होस् वा खेलाडीहरुका विविधि गतिविधि हुँदा पुलमा सवारी चाप अत्याधिक छ । अब भने पृथ्वी राजमार्गको स्तरोन्नतिसंगै बनाइने ६ लेनको पुल (चाइनापुल) ले सवारी चाप हटाउने छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार दुइ लेनकै पुलका कारण अत्यधिक सवारी चाप छ । साथै रंगशालामा हुने विविध खेलकुद प्रतियोगिता र गतिविधिले ट्राफिक व्यवस्थापन गर्न कठिनाई भइरहेको छ ।
६ लेनको पुल बनेपछी भने सबै हिसावले ट्राफिक व्यवस्थापनमा निकै सहज हुने उनले विश्लेषण सुनाए । ‘अहिले पुल दुई लेनको मात्र हुँँदा ट्राफिक व्यवस्थापनमा निकै सकस भइरहेको छ । बढ्दो सवारी साधन र रगशालामा हुने विविध खेलकुद कार्यक्रमले पनि साँघुरो पुलमा ट्राफिक व्यवस्थापनमा समस्या आएको हो । अब ६ लेनको पुल बन्यो भने सबै हिसावले ट्राफिक व्यवस्थापनमा निकै सहज हुन्छ’ उलने भने ।
चाइना पुलसंगै त्यसको उत्तर र दक्षिण दुबैतर्फ दुई/दुई लेनका थप दुई पुल निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको छ । त्यसैगरी थपिने पुलका किनारामा पैदल यत्रुका लागि फुट ट्रयाक समेत बन्दा पैदल यात्रुले पनि आरामले पुलको वारपार गर्न पाउने छन् ।
एक अर्व ७ करोड २४ लाख २६ हजार पाँच सय रुपैयाँको लागतमा पुल निर्माणका लागि ठेक्का भइसकेको पोखरा मुग्लिन सडक योजना (पश्चिम खण्ड)का योजना प्रमुख अमित कुमार श्रेष्ठले जानकारी दिए । रसुवा कन्स्ट्रक्सन कम्पनी लिमिटेडले उक्त पुल निर्माणको ठेक्का लिएको हो । यसरी बन्ने पुल पर्यटकीय दृष्टिकोणले आकर्षक बन्ने समेत अपेक्षा गरिएको उनले बताए ।
लम्बाई १९० मिटर लम्बाईको उक्त पुल निर्माणका लागि डिजाइन निर्माण भएर प्रमाणित हुने क्रममा रहेको छ । निर्माता कम्पनीले पुल निर्माणका आवश्यक कर्मचारी र मजदुरका लागि बसोबास प्रबन्धका लागि क्याम्प निर्माणको काम समेत अगाडि बढाइसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
७ सेप्टेम्बर २०२२ मा काम काम सुरु गर्नेगरी ११ अगष्ट २०२२ मा सम्झौता भएको हो । सम्झौता अनुरुप यही चैत महिनाभरमा अन्तिम डिजाइन प्रमाणित भइसक्नुपर्नेछ । सम्झौता बमोजिम निर्माण कम्पनीले डिजाइन पेश गरिसकेको छ । पुल निर्माणको काम भने, ७ सेप्टेम्बर २०२५ सम्ममा सक्नुपर्नेछ ।