काठमाडौं ।
इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ ।
सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।
उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
इक्वेडरको आपतकालीन सेवाले घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ ।