पोखरा ।
बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ ।
केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको नाफालाई खराब ऋणले प्रभावित गरेको छ । बैंकको नाफा ११.२७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २७ अर्ब ८ करोड १४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
यो ६ महिनाको अवधिमा ६ वटा बैंकको नाफा घटेको छ भने कृषि विकास बैंकको नाफा ऋणात्मक बनेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंक चालु आवको सोही अवधिमा आइपुग्दा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक बनेको छ । वित्तीय विवरण प्रकाशित गरेकामध्ये १२ वाणिज्य बैंकको खराब कर्जा न्यूनतम २.२४ प्रतिशतदेखि ४.५२ प्रतिशतसम्म पुगेको छ।
कुल २० वाणिज्य बैंकको नाफा भने गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षको यो अवधिमा भन्दा १२.४५ प्रतिशतले बढेर ३० अर्ब ६ करोड रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा भने नाफा २६ अर्ब ७३ करोड रूपैयाँ थियो। सिटिजन्स बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक र नेपाल बैंकको नाफा एक प्रतिशतदेखि ३१ प्रतिशतसम्म वृद्धि भएको हो। कृषि विकास बैंक भने १२ करोड रूपैयाँ नोक्सानमा छ।
बैंकहरूको लाभांशको रूपमा वितरण योग्य नाफा २१ अर्ब ३० करोड रूपैयाँ बराबर छ। कुल बैंकहरूले औसत ८.३७ प्रतिशतको दरमा लाभांश बाँड्न सकिने देखिन्छ । एनआइसी एसिया बैंकले सबैभन्दा धेरै, ३२.४३ प्रतिशत र त्यसपछि एभरेष्ट बैंकले २६.५६ प्रतिशतको दरमा लाभांश बाँड्न सक्ने देखिन्छ। बैंकहरूको चुक्ता पुँजी भने १२.४४ प्रतिशतले बढेर तीन खर्ब चार अर्ब रूपैयाँ पुगेको छ ।