दमौली सडक खण्डमा खाल्डाखुल्डीले दुर्घटनाको जोखिम, बिरामीलाई सास्ती

केन्द्रभाग मिडिया

दमौली ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौं लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।

पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ। कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ।

ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताए।

‘सडकको खाल्डाखुल्डीले निकै सास्ती छ, बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो छ। भनेको समयमा पुग्न सकिँदैन। खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई पनि सास्ती भइरहेको छ,’ उनले भने।

पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उनले बताए। राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताए। ‘राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ। सम्बन्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ,’ उनले भने।

पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ। गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीको भनाइ छ। पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको बताइएको छ।

‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन। मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौं। आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौ,’ उनको भनाइ छ।

कार्यालयलाई अहिले सडक मर्मतका लागि पैसा आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभएपनि खाल्डा पुर्न थालेको उनको भनाइ छ।

राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक एडीबीको सहुलियत ऋणमा चार लेनको बन्दैछ। चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ।

गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ। चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो।

५२ वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ। सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो। आर्थिक वर्ष २०७६-७७ मा पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ।

  • २४ आश्विन २०७८, आईतवार ०९:५० प्रकाशित