महोत्तरी ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् ।
रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकामा मङ्सिर २६ गते महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो ।
ताल्चा लागेका घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् ।
यता प्रहरीले नेहाको पति डा पङ्कज चौधरीलाई पक्राउ गरी उनीविरुद्ध विवाहमा दाइजो लिएको मुद्दामा अनुसन्धान गरिसकेको तथा घरेलु हिंसा मुद्दाउपर पनि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान भइरहेको अवस्थामा थप आन्दोलन गर्नु नपर्ने भन्दै प्रहरीले बिहीबार नगरपालिकाको भवन तोडफोड र सडकमा चक्काजाम गराएको आरोपमा नेहा चौधरी र उनका सहयोगी निहारिका सिंह राजपुतलाई नियन्त्रणमा लिएको छ ।













