भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

केन्द्रभाग मिडिया

भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो ।

दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।

यी मध्ये सबैभन्दा झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।

सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए ।

भारत र चीनको विवादित क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ ।

सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन ।

  • २७ मंसिर २०७९, मंगलवार १०:०३ प्रकाशित