गोविन्द सुवेदी ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास अर्गनाइजेशन अन्तर्गतको बतास फाउण्डेसनले आबश्यक नै नभएको अक्सिजन प्लाण्ट उपलब्ध गराएको छ ।
अहिले अस्पतालमा तीन वटा अक्सिजन प्लाण्ट रहेकामा एउटा प्लाण्ट मात्र उपयोगमा ल्याएको बेला बतास फाउण्डेसनले बुधबार थप अर्को प्लाण्ट दिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । ‘हामीसंग अहिले नै तीन वटा अक्सिजन प्लाण्ट छन् । तपाईहरुले ल्याउने भनेको प्लाण्ट चाहिँदैन अन्यत्र नै कतै दिनुस् भनेका थियौं । तर उहाँहरुले यहीँका लागि ल्याएको हो अन्त दिन मिल्दैन भनेर ल्याउनुभएको छ’ उनले भने ।
निर्देशक डा. खत्रीका अनुसार अहिले भइरहेका प्लाण्टहरुलाई नविग्रियोस भनेर आलोपालो चलाइने गरेको छ । भएकै प्लाण्ट बाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने उनले जानकारी दिए । अस्पतालले १०० सिलिण्डर भन्दा धेरै उपयोग नगर्ने र थप ३०० सिलिण्डर उत्पादन क्षेमता भएका बेला अर्को आवश्यक छैन, हामीलाई चाहिँदैन अन्यत्र नै दिन आग्रह गर्दा अन्त मिल्दैन भनेर दिइएको उनको भनाई छ । ‘हामीकहाँ अहिले नै ४०० सिलिण्डर उत्पादन गर्ने क्षेमता छ । १०० सिलिण्डर भन्दा धेरै खपत हुँदैन । अर्को हामीलाई चाहिँदैन अन्यत्र नै दिनुहोस् भनेर आग्रह गर्दा मान्नु भएन’ उनले भने ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्ष अगाडि नै बतास फाउण्डेशनलाई ‘अब तपाईहरुले उपलब्ध गराउँछौं भनेको अक्सिजन प्लाण्ट हामीलाई चाहिँदैन अन्यत्र आवश्यक भएको ठाउँमा दिनुहोला’ भनेर जानकारी दिएको थियो । तर, बतास फाउण्डेसनले चाहिँदैन भन्दाभन्दै अस्पतालकै लागि किनिएको बताउँदै अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको हो । बतासले दिएको प्लाण्ट अस्पतालमा राख्दा २०० स्क्वायर मिटर जमिन उपयोग हुने निर्देशक डा. खत्रीले जानकारी दिए । अस्पताल भित्रको त्यतिको जमिन अन्य प्रयोजनका लागि निकै उपयोगी हुनेमा अनावश्यक प्लाण्ट राख्नु परेको उनको टिप्पणी छ । डा. खत्रीले उपलब्ध गराइएको प्लाण्ट अस्पतालले जोड्न नसक्ने भन्दै राख्ने ठाउँ मात्र दिएको बताए ।
जडान बतास फाउण्डेसनले गरिदिएपनि त्यसको मर्मत संहार र सञ्चालनका लागि अस्पताललाई थप आर्थिक भार पर्ने उनले जानकारी दिए । ‘चाहिँदैन भन्दाभन्दै प्लाण्ट ल्याउनुभयो । राख्ने ठाउँ दिएका छौं । हामीले जोड्न सक्दैनौं । जोडेपछि हस्तान्तरण गनुहुने होला । जोडेरै हस्तान्तरण गरेपनि त्यसको नियमित मर्मतसंहार र सञ्चालनका लागि थप जनशक्ति चाहिन्छ नै स्वभाविकरुपमा यसले हस्पतालका लागि थप आर्थिक भार पर्नेछ ।’
- अक्सिजन अभावका ति दिन र प्लान्ट बनाउने घोषणासहितको अभियान
पोहोर (वि.स २०७८) १४ जेठको बिहानै पोखरा र सिंगो देशकै लागि दुखद् समाचार पोखराबाट बाहिरियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभावले अस्पताल भर्ना भएका कोरोना संक्रमित बिरामीहरुको दूखद् निधनको खबर बाहिरिँदा नै बतास फाउण्डेसन बनाएर अक्सिजन प्लान्ट जोड्न भन्दै अभियान चलाईसकिएको थियो ।
प्राणबायुको रुपमा लिइने अक्सिजन प्लान्ट जोड्ने भनेपछि पोखराका प्रतिष्ठित उद्योगपति, उद्योगी, समाजसेवी मात्र होइन सर्वसाधारणले समेत उक्त अभियानलाई साथ दिएका थिए । तत्काल अक्सिजन प्लान्ट जोड्ने बताएको बतास फाउण्डेसनले अहिले अस्पतालका लागि तीन वटा अक्सिजन प्लान्ट आएर चालुभइसकेपछि बल्ल अक्सिजन प्लान्ट ल्याएको छ । कोरोना संक्रमणले तहसनहस पारेको बेला फ्रान्सबाट २५/२६ दिनमै अक्सिजन प्लान्ट ल्याउन सकिने बतास फाउडेनका अध्यक्ष आनन्द बतासले बताएका थिए ।
अहिले बल्ल अक्सिजन प्लान्ट अस्पतालमा ल्याइएको जानकारी पाएपछि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अब सहयोग गर्दा पनि धेरै सोच्नुपर्ने रहेछ भन्ने आफूले पाठ सिकेको प्रतिक्रिया दिए । ‘अक्सिजनको अभावले कोरोना संक्रमित छट्पटाईरहेको बेला प्लान्ट जोड्ने भनेपछि आँखा चिम्लेर सहयोग गरियो । अहिले ‘मरेपछि औषधी’ भनेजस्तो बल्ल प्लाण्ट ल्याएर सहयोगीहरुलाई पछुतो गराउने काम भयो’ उनले भने, ‘आफूले गरेको सहयोगबाट ल्याइएको प्लाण्ट अस्पतालकै लागि आर्थिक बोझ बन्ने अवस्था आउनु अत्यन्त दुखद् छ । उक्त अभियानलाई देवकोटा अध्यक्ष रहेको नेलम्बो नेपालले तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।
- यसरी चलाइएको थियो अभियान
पोखराको व्यासायीक समूह बतास अर्गनाइजेशनको आगुवाईमा यहाँका व्यवासायीहरुले पोखरा क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जोड्न भन्दै आर्थिक अभियान नै चलेको थियो । बतास फाउण्डेसन गठन गर्दै चलाइएको यो अभियानमा यहाँका प्रतिष्ठित व्यवसायीक घराना र सर्वसाधारण समेतले साथ दिएका थिए । यो अभियानबाट तीन करोड रुपैयाँ भन्दा धेरै रकम संकलन भइसकेको बतास अर्गनाजेशनका अध्यक्ष आनन्द बतास स्वयमले सार्वजनिक गरेका थिए ।
अभियानमा आनन्द बतासले बतास फाउण्डेसन मार्फत २५ लाख र मातहतका विभिन्न कम्पनीमार्फत २५ लाख गरेर कुल ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए । त्यस्तै, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्ग, स्वर्गीय समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, सुपरमादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बिरिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैया सहयोग घोषणा गरेका थिए । योसहित विभिन्न व्यवसायीक प्रतिष्ठान र व्यवासायीको तर्फबाट समेत गरी तीन करोड भन्दा धेरै रकम उठाइएको हो ।
‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान नाम दिइएको अभियानमा झण्डै चार करोडको हाराहारीमा रकम उठेको हुनसक्ने उक्त अभियानमा साथ दिएका एक अभियान्ता दाबी गर्छन् । प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने भन्दै आह्वान नै गरिएको थियो ।