खोटाङ ।
मुलवासी किरात समुदायले आज साकेला उधौली मनाइरहेका छन् ।
अन्नवाली भित्र्याइएको खुसीयाली तथा लेकमा रहेका मानव, जीवजन्तु तथा चराचुरुङ्गी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपूजक किरात समुदायले मंसिर पूर्णिमाका दिनबाट धुमधामका साथ साकेला उधौली मनाउन सुरु गरेका हुन् ।
राई, लिम्बू, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका समुदायमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनलाई उधौली चाडका रुपमा मनाउने प्रचलन छ ।
रीतिरिवाज एउटै भए पनि उधौलीलाई राई समुदायले उधौली, लिम्बू समुदायले चासोक तङनाम, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवाको रुपमा मनाइरहेका छन् ।
किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णिमामा उभौली तथा अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली मनाउने गरिन्छ ।














