पाल्पा ।
बिहेको भोज खाएर फर्केका पाल्पाका डेढ सय बढी गाउँले बिरामी भएका छन् ।
मंसिर १७ गते बिहे भोज खाएपछि पाल्पा चिर्तुङधारा घोरबन्दाका सिंगो गाउँबस्तीका एक सय ५० बढी गाउँले विरामी भएका हुन् । उनीहरुको उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ ।
कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको हो । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोललगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको छ ।
बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका हुन् ।
बिरामी भएकाहरुमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ ।














