पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको एक सार्वजनिक किरियापुत्री भवनमा दलितलाई किरिया बस्न नदिने ३ जनालाई कैद सजायको फैसला भएको छ। जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई मुद्धा चलेको तीन वर्षपछि कैद सजायको फैसला गरेको हो ।
किरियापुत्रीलाई जातीय विभेद गर्ने देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीलाई अदालतले हिजो(सोमबार)कैद सजाय तोकेको हो ।
उनीहरु तीन जनालाई जनही एक वर्ष कैद र ५० हजार जरिवाना गरिएको जिल्ला अदालत कास्कीले जानकारी दिएको छ।न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले जरिवानासँगै एक लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
उनीहरूले बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा दलितलाई बस्न नदिने भन्दै स्थानीय मोहन सुनारलाई त्यस भवनमा किरिया बस्न रोकेका थिए।
मोहनका भाई सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा निमोनियाका कारण मृत्यु भएको थियो। कोभिड–१९ महामारीका कारण सम्मरको शव ल्याउन नसकेपछि दुबईमै उनको दाहसंस्कार गरिएको थियो। पोखरामा दाजु मोहन, सम्मरका श्रीमती र कान्छा छोरा किरिया बस्न खोज्दा उनीहरूलाई अभियुक्तले धम्की समेत दिएका थिए।














