त्रिशूली ।
नुवाकोटमा आमाछोरीको हत्या भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीकी बीस वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।
आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
प्रहरीको अनुसार सोनम घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।
घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ परेका हुन् । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।













