पोखरा ।
भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ ।
चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । चन्द्रग्रहण बेला खाना खान हुँदैन भन्ने पूर्वीय संस्कार छ। वैज्ञानिकहरूले भने ग्रहणमा खाना खाँदा के असर पर्छ ? भन्ने पत्ता लगाइसकेका छैनन् ।
‘ग्रहणमा खाने कि नखाने भन्ने तपाई केमा विश्वास गर्नुहुन्छ ? भन्नेमा भर पर्छ,’ खगोलशास्त्री जयन्त आचार्यले भने, ‘हाम्रो संस्कारमा ग्रहण बेला खाना अशुद्ध हुने भएकाले खानु हुँदैन भन्ने छ, विज्ञानले खाँदा फरक पर्दैन भन्छ ।’














