तिहार सकिएसँगै छठको रौनक शुरु

केन्द्रभाग मिडिया

नेपालीको दोस्रो महान् पर्व तिहार हिजो बिहीबार भाइटीका लगाएसँगै सकिएको छ।तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ ।

विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ।

यस पर्वमा आवश्यक पर्ने बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सख्खर किनमेल गर्नेको भीड बढेको छ ।

यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ ।चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको लागि पहिलो दिन नुहाएर चोखो भई बस्ने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।

यस अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिवार्य रुपमा बार्ने चलन छ ।पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले विभिन्न ताल नदी छेउछाउमा यो पर्व मनाईन्छ ।

  • ११ कार्तिक २०७९, शुक्रबार ११:४२ प्रकाशित