काठमाडौँ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।
समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
सोमध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ ।














