पोखरा ।
कास्की–२ (ख) मा दुई उम्मेदवार जसले पहिलो प्रदेशसभा अबधिभर प्राप्त गरेको तलबभत्ता बराबर प्राप्त सबै रकम विभिन्न विकास निर्माण र सामाजिक कार्यमा खर्चेका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ । ति उम्मेदवार हुन् ।
गठबन्धनको साझा तर्फबाट उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापा र नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी मिना कुमारी गुरुङ । दुबैजनाले प्रदेशसभाको आवधिभर प्राप्त सेवा सुविधा आफूले खर्च नगरी प्राप्तगरे भन्दा बढी रकम सामाजिक कार्यमा खर्चेका छन् ।
एमालेबाट निर्वाचनमा होमिएकी गुरुङ व्युटिसियन व्यवसायी हुन् । उनी मजदुर क्षेत्रको प्रतिनिधित्व गर्दै एमालेबाट अघिल्लो प्रदेशसभामा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेकी हुन् । उम्मेदवार मिना गुरुङले सांसद भएबापत प्राप्त गरेको तलब भत्ता भन्दा धेरै नै सामाजिक कार्यमा आफूले खर्च गरेको बताइन् ।
उनले तलब भत्ता लगायतको सुविधा बाट प्राप्त गरेकोसहित ३० लाख भन्दा धेरै रकम सामाजिक कार्यमा खचेको बताउँछिन् । आगामी दिनमा पनि सामाजिककाममा आफू निरन्तर सक्रिय रहने उनको भनाई छ । उनले आफू निर्वाचित हुँदा आफूले अगांलेको पशा मात्र नभई समग्र महिलाको समेत सम्मान हुने अथ्र्याउँछिन् । ‘म निर्वाचित हुँदा मैले जुन बर्गको प्रतिनिधित्व गर्छु उनीहरुको सम्मान त हो नै । प्रदेशसभामा महिलाहरुको राजनीतिलाई समेत अगामि दिनमा टिकाउने र गरेर देखाउने एउटा बाटो खुल्छ भन्ने ठानेकी छु’ उनले भनिन् ।
गठबन्धन दलको समर्थन लिँदै कांग्रेसबाट उम्मेदवार बनेका मन्त्री विन्दु थापा यस अगाडिको प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनले सांसद र मन्त्री भएबापत प्राप्त सबै सेवा सुविधा विकास निर्माण र समाजिक सेवामै खर्चेका छन् ।
उनले प्रदेशसभामा निर्वाचित भएदेखि असोजसम्म ५८ लाख २९ हजार ६६ रुपैया ५२ पैसा सामाजिक सेवामा खर्च गरेको जानकारी दिएका छन् । व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका उनले आगामी दिनमा आफूले प्राप्त गर्ने सेवसुविधा सामाजिक कार्यमै खर्च गर्ने बताएका छन् । ‘मैले निर्वािचित भएपछि पाउने सबै सेवा सुविधा सामाजिक कार्यमै खर्च गछु भनेको थिएँ । त्यो भन्दा बढि नै खर्च गरेको छु । म राजनीतिमा सेवा गर्न आएको हुँ अगामि दिनमा पनि मैले यसलाई नै निरन्तरता दिन्छु’ उनले भने ।
कार्यअवधि समाप्त भएको प्रदेशसभामा एमाले उम्मेदवार गुरुङ समानुपातिक तर्फबाट सांसद हुन् । उनले प्रत्यक्ष तर्फको निर्वाचन पहिलो पटक फेस गर्र्दैछन् । निर्वाचन जितेमा र एमालेले सरकारमा जाने अबसर प्राप्त भए उनले कुनै न कुनै मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने एमाले नेताहरु बताउँछन् । ‘दोहोर्याएर संसद छिर्दाको अनुभव र महिला हुनुको नाताले पनि उहाँले एमाले सरकारमा जाँदा मन्त्री हुने अवसर पक्कै नै पाउनुहुन्छ’ एक एमाले नेताले भने ।
कांग्रेस उम्मेदवार एवं मन्त्री थापा निर्वाचित भएमा र कांग्रेसले सरकारमा जाने अवस्था बनेमा मुख्यमन्त्री नै दाबा गर्ने ठाउँमा पुग्ने छन् । उनी अहिले नै मन्त्री भएकाले र दोहोरिएर निर्वाचित हुँदा उनलाई त्यो अवसर जुर्न सक्नेमा कांग्रेसकै नेताहरु सहमत देखिए । उनी स्वयमले पनि अवसर पाए मुख्यमन्त्री नभएपनि स्वभाविक रुपमा थप शक्तिशाली मन्त्रालय पाउने संकेत गर्छन् । ‘स्वभाविक रुपमा अहिले मन्त्री भएकाले यो भन्दा फरक भूमिकामा रहन्छु नै’ उनले भने ।
अघिल्लो संसदीय कार्यकालमा सेवा सुविधाबाट प्राप्त रकम भन्दा धेरै समाजिक सेवामा खर्च गरेका थापा र गुरुङ बीचको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ । पोखरामा सयौं ब्युटिसियन उत्पादन गरेकी गुरुङ एमालेमा मजदुर क्षेत्र र महिलाको समेत नेतृत्व गर्छिन् । विगतमा पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गरेका थापा कांग्रेसबाट उद्योगी व्यवसायीको समेत नेतृत्व गर्छन् । शान्त स्वभावका यि दुई बीचको प्रतिस्पर्धालाई निकै रुचिका साथ हेरिएको छ ।













