पोखरा।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षण पोखरेली सबैको ड्युटी रहेको बताएको छन् । आज फेवाताल सफाई महाअभियानको सुभारम्भ गर्दै मेयर आचार्यले भने,‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो।’
महाअभियानको पहिलो दिन २ सय बढी ट्रक जलकुम्भी झार लगायतको फोहोर फेवातालबाट बाहिर निकालिएको आचार्यले बताएका छन् । तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मङ्गलवारको अभियानका क्रममा निकालिएको हो।
आचार्यले भने, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो, तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर सङ्कलन भएको छ ।’
अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने उनले बताए । ‘यो सुरुवात मात्र हो, यसलाई आगामी दिनमा निरन्तरता दिने सन्दर्भमा महानगरपालिकाले स्थायी संयन्त्र निर्माण गरेर अगाडी बढ्ने छ, उनले भने,‘यसमा स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ ।’
तालको छेउमा ठुलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गरे। आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्ने कार्यमा उनीहरूको ध्यानाकर्षण समेत आचार्यले गराएका छन्।
फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको भए पनि हाल भने त्यसलाई मर्मतसंभार गरी आजदेखि मेसिनको क्षमता अनुसार सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।
फेवाताल सरसफाइ महाअभियानको सुरुवाती चरणमा आज हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् ।
सरसफाईका लागि फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट १, २, फिस्टेल घाट १,२, अम्बोट घाट १,२, नयाँघाट, गौरी घाट १, २, बाराही घाट १, २, नेपाल ट्रष्ट, पाहारी घाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, सुइमिङ्पुल हल्लनचोक १, २, क्याम्पीङ चोक १, २, खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरि ३३ वडा पोइन्टहरु निर्धारण गरिएको थियो ।














