२५ असोजमा फेवा सफाई महाअभियान, सहभागी हुन मेयर आचार्यको आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरले २५ असोजमा फेवाताल सफाई महाअभियान सञ्चालन गर्ने भएको छ । पोखरा महानगरपालिकाले दसै र तिहार लगायतका चाडपर्वको अवसरमा शुक्रबार विहान आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महानगरका मेयर धनराज आचार्यले यस्तो महाअभियान सञ्चालन गरिने जानकारी दिएका हुन् । उनले फेवा लगायत यहाँका ताल तलैयाको संरक्षण गर्ने मुख्य दायित्व महानगर र सबैको भएको भन्दै उक्त अभियानमा महानगरका ३३ वटै वडाको सहभागिता हुने जानकारी दिए ।

उनले आमा समूहसहित सरकारी तथा गैरसरकारी संस्था सबैको सहभागिता र हातेमालो सफाई महानगरमा रहने अपेक्षा प्रकट गरेका छन् । फेवातालको विषयमा धेरै अनुत्तरित प्रश्न रहेको भन्दै उनले सर्वोच्च अदालतले अन्तिम फैसला दिएपछि यसको मापदण्डलाई कडाइका साथ कार्यन्वयनमा लैजाने बताए ।

अन्तिम फैसला नआउँदासम्म तालको ६५ मिटर भित्र कुनै संरचना नबनाउन र बनाउन नदिन सर्वोच्च अदालतले आदेश दिएकाले कुनै संरचना बनाउन नदिइने उनले प्रष्ट पारेका छन् । ‘हाल सर्वोच्च अदालतले हामीलाई अन्तिम फैसला नभएसम्म कुनै संरचना नबनाउनु र बनाउन नदिनु भनेको छ । यसलाई हामी कडाइका साथ पालना गर्छौं । मापदण्ड मिचेर संरचना बनाउँदै गरेकाहरुलाई मैले फेरी भन्छु सर्वोच्चको यो आदेशलाई सम्मान गर्नुहोला’ उनले भने

मेयर आचार्यले फेवा रोइरहेको भन्दै २५ गते उद्धार गर्ने समेत बताए । ‘फेवा रोइरहेकी छन् । यसका विषयमा धेरै अनुत्तरित प्रश्न छन् । ति प्रश्नको जवाफ सर्वोच्चको अन्तिम फैसाला आएपछि दिउँला’ उनले भने, ‘हामी यही २५ गते फेवाको सरसफाईको महाअभियान गर्दै छौं । त्यसदिन फेवाको सरसफाईको हिसावले उद्धार गर्ने हो । सबैको साथ र सहभागिताका लागि आग्रह गर्दछु ।’

उनले फेवातालमा हुने अतिक्रमण नियन्त्रण र अबैध काम रोक्न अहिले पनि महानगरको तर्फबाट पाँच जना नगरप्रहरी खटाइएको जानकारी दिएका छन् । २५ असोजमा महाअभियान सञ्चालन गर्ने र त्यसपछि लगत्तै एउटा संयन्त्र बनाएर निरन्तर ताल सफाईलाई निरन्तरता दिने उनले बताए ।

यस अगाडि पनि अभियान्ता रामबहादुर पौडेल लगायतका सफाई अभियान्ताले फेवासहित पोखरा सफाई अभियान सञ्चालन गरेका थिए । उक्त अभियानले फेवा र पोखराका चोकहरुमा सफा गराउन सहयोग गरेको थियो । मेयर आचार्यले यसपालीको सफाई अभियान यस अगाडिका अभिायान भन्दा बृहद् हुने र उक्त अभियानमा सबैलाई सहभागिताका लागि आह्वान नै गरेका हुन् । उनले अभियानमा सक्रियता देखाउने एक दर्जन भन्दा धेरै संघसंस्थालाई पुरस्किृत गर्नेसमेत घोषणा गरेका छन् ।

मेयर आचार्यले पोखरा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य रुपमा सफल पार्नपनि महानगरले सम्पूर्ण रुपमा आफ्नो तर्फबाट सहयोग गर्ने बताए । महानगरवासीलाई पनि उनले खेलाडीको हौसला बढाउने गरी उपस्थित हुन र खेलको सफलताका लागि हौसला दिन आग्रह गरेका छन् । चाडपर्वले सबैमा एकता र सद्भावको भावनालाई मजबुद पार्ने भन्दै उनले सबैमा शुभकामना प्रकट गरे ।

गण्डकी प्रदेशका सहरी विकास, यातायात तथा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले चाडपर्वले सबैमा शुख शान्ति र समृद्धि दिन सकोस् भन्ने कामना गरे । उक्त अवसरमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापासहित सबैजसो दलहरुका कास्कीबाट केन्द्रमा प्रतिनिधित्व गर्नेसहित जिल्ला र स्थानीय तहका नेताहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, सुरक्षा निकाय र सञ्चारकर्मीहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा पोखरा महानगरका उप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गरेको उक्त कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा नम्बर २५का वडाध्यक्ष मोतिलाल तिमिल्सिना, कांग्रेस संसदीय दलका नेता दिवशमान प्रधानङ्ग र एमाले संसदीय दलका नेता राधिका शाही योगी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 

  • १४ आश्विन २०७९, शुक्रबार ११:३३ प्रकाशित