पोखरा ट्रेड मलको ‘नगदै नगदको वर्षा’ : थप पाँच जनालाई उपहार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्षित गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजना अन्तर्गत दोस्रो पाक्षिक उपहार विजेता छानिएका छन् ।

उत्सव व्यवस्थापन समिति र पोखरा ट्रेड मल व्यवस्थापन समितिले बिहीबार ग्राहकहरुको उपस्थितिमा दोस्रो पाक्षिक उपहार विजेता छनोट गरेको हो ।

उपहार योजनामा प्रेम गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाए । साइना गुरुङले दुई हजार ५०० साथमा रु एक हजार बराबरको फेसियल कुपन, यसैगरी कृष्टि थापाले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट जितेका छन् ।

यसैगरी नवराज दवाडीले एक हजारको साथमा क्लासिक चुलोमा डिनर कुपन र नविना पुनले फिस्टेल ड्रिम पार्कमा एक दिनको कुपन पाएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए ।

ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् । चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको अध्यक्ष त्रिपाठीले बताए ।

उपहार कुपन घोषणा कार्यक्रममा पोखरा ट्रेड मलका सञ्चालकहरु वासुदेव पराजुली, सन्तोष घिमिरे, राजुकुमार शर्मा, उत्सव व्यवस्थापन समितिका उपाध्यक्ष सिमा कोइराला, सचिव रमेश बराल, कोशाध्यक्ष रघु दवाडी, सह कोशाध्यक्ष धर्मदत्त अधिकारी, सदस्य सचिव अग्नि भुसाल, सदस्य नबराज ढुङ्गाना, राजिव क्षेत्री, सल्लाहकार गोपाल प्रसाद बाटाजु लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा अघिल्लो पटकका विजेता आरुश खनाललाई रु १० हजार पुरस्कार हस्तान्तरण गरिएको थियो।

मलको चाडपर्व उपहार योजना अन्तर्गत ट्रेड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् ।पाक्षिक उपहार योजनाका विजेताले रु एक हजारदेखि १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर तथा सपिङ भौचर प्राप्त गर्नेछन् भने बम्परमा रु एक लाख पुरस्कार जित्न सक्ने व्यवस्था मिलाइएको मलले जनाएको छ ।

  • ६ आश्विन २०७९, बिहीबार १५:१९ प्रकाशित