सहुलियत पसलमा घट्यो तेल र दालको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।

दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार प्रकाशन भएपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो ।

तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

घटाइएको नयाँ मूल्य मंगलबारबाटै कार्यान्वनयनमा आइसकेको पनि उनले बताइन । अब सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ ।

यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त तेल र दाल साल्ट ट्रेडिङबाट खरिद गरेको जनाएको छ ।

  • ५ आश्विन २०७९, बुधबार १३:४२ प्रकाशित