पोखरा ।
मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ ।
पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ ।
पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ ।
मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ ।
च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उनले जानकारी दिए ।
उनका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन् । त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ ।
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
अघिल्लो वर्ष पोखरामा दसैँको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।