नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ तोड्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको हो । योसँगै असोज महिनामा निक्षेपको ब्याजदर बढ्ने भएको छ ।
बैंकिङ प्रणालीमा हाल तरलताको चरम अभाव भएकाले धेरैजसो बैंकले असोजमा ब्याजदर बढाउने बताइएको छ । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए । अघिल्लो महिनामा कायम भएको ब्याजदरको तुलनामा १० प्रतिशत बिन्दुले बढाउन पाइने व्यवस्था छ ।
यसले गर्दा अब असोजमा बैंकहरुले व्यक्तित मुद्दतीमा १२.१३ प्रतिशतसम्म ब्याजदर दिन सक्ने छन् । नेपाल बैंकर्स संघले ६ महिनादेखि भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए ।
राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै बढेर १२.१३ प्रतिशत पुग्ने भएको छ ।
त्यस्तै संस्थागत मुद्दतीमा भने अधिकतम १०.१३ प्रतिशतसम्म मात्रै दिन पाउने छन् । व्यक्तिगत मुद्दतीमा भन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्ने व्यवस्था छ । त्यस्तै बचत खातामा पनि बैंकहरुको ब्याजदर बढ्ने छ । मुद्दतीमा बैंकहरुले दिएको ब्याजदरभन्दा कुनै पनि बचत खातामा ५ प्रतिशतभन्दा कम ब्याजदर हुन नहुने व्यवस्था छ ।
असोजमा बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै पहिलो त्रैमासमा आधार ब्याजरदरमा भएको वृद्धि अनुसार कर्जाको ब्याजदर पनि बढ्ने भएको छ । राष्ट्र बैंकले हरेक त्रैमासमा आधार ब्याजदरमा भएको वृद्धिको आधारमा पछिल्ल्लो त्रैमासामा कर्जाको ब्याजदर बढाउन सक्ने व्यवस्था गरेको छ ।