भारतको प्रतिबन्धपछि वियरको मूल्य बढ्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा वियरको मूल्य बढन सक्ने भएको छ । बियर उत्पादनका लागि प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि बियरको मूल्य बढ्न सक्ने आँकलन गरिएको छ।

हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय आज (शुक्रबार)देखि कार्यान्वयनमा आएको छ । कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका वियर उद्योग प्रभावित हुने भएका छन् ।

वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपालमा देखिने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए ।

भारतले चामल निर्यातमा पनि कडाइ गरेको छ । अहिलेसम्म करिब १५० देशमा चामल निर्यात गर्दै आएको भारतले बासमती बाहेकका चामल निर्यातमा लाग्ने कर २० प्रतिशतले बढाएको छ ।

भारतले चामल निर्यातमा कर बढाएको र कनिका निर्यातमा प्रतिवन्ध गरेका कारण नेपाली वियर उत्पादक कम्पनीको लागत बढ्ने देखिएको छ । कम्पनीको उत्पादन लागत बढेपछि वियरको मूल्य पनि बढ्छ ।

  • २४ भाद्र २०७९, शुक्रबार १३:५५ प्रकाशित