समाचार प्रति महानगरको ध्यानाकर्षण : हटाएको मात्र हैन तत्काल व्यवस्थापन पनि गर्छौँ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले दशकौँ पुराना, जीर्ण र जोखिमयुक्त भवनमा सञ्चालन गरिएको पोखरा आर्ट ग्यालरी, पुस्तकालय र कला प्रदर्शनीको विषयलाई जोडेर विभिन्न सञ्चारमाध्यम लगायत सामाजिक सञ्जालमा व्यक्त भइरहेका धारणाहरू प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

महानगर कै संरक्षकत्वमा रहेका पी.एस.एम आर्ट ग्यालरी, पोखरा आर्ट ग्यालरी र पोखरा सार्वजनिक पुस्तकालयको तत्काल व्यवस्थापनका लागि उचित प्रबन्ध मिलाइएको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसंग पटक पटक छलफल तथा संवाद समेत गरिएको मेयर आचार्यद्धारा जारी ध्यानाकर्षणमा भनिएको छ ।

बढ्दो सहरीकरण र जनघनत्वका कारण पार्क लगायत पर्याप्त खुल्ला स्थानहरू अभाव भइरहेका बेला पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुल स्थित आफ्नै स्वामित्वमा रहेका पुराना तथा जीर्ण भवन लगायतका संरचनाहरू विस्थापन गरी खुल्ला स्थान सहितको पार्क निर्माण गर्ने योजनाका साथ महानगर अगाडी बढेको स्पष्ट पारेको छ ।

पोखराको गहनाका रूपमा रहेका सिर्जनात्मक कला र कलाकारिता सम्बन्धी गतिविधिहरू तथा बाचनालयको दिगो व्यवस्थापनका लागि पृथ्वी चोकमा पोखरा भवनको निर्माण गरिनेछ । त्यसका लागि बजेटको समेत आवश्यक व्यवस्था गरिएको र एक वर्षभित्रमा निर्माण सम्पन्न गरी सोही स्थानमा यी सबै गतिविधिहरूको व्यवस्थापन गर्ने तयारी गरिएको छ । हाल ती भवनमा रहेका कुनै पनि सामाग्रीहरूमा क्षति नपुराइएको र ती सबैलाई सुरक्षित साथ स्थानान्तरण गरिनेछ, मेयर आचार्यले भनेका छन् ।

अन्त्यमा, कला र संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध छ । यस सन्दर्भमा यहाँहरूले व्यक्त गर्नुभएको चिन्ता, चासो, सरोकार र सहयोग प्रति महानगरपालिका हार्दिक आभार प्रकट गर्दछ । सुन्दर पर्यटकीय नगर निर्माणमा आम पोखरावासीको थप सहयोगको अपेक्षा सहित यस अभियानमा हातेमालोका लागि मेयर आचार्यले अनुरोध गरेका छन् ।

 

  • २४ भाद्र २०७९, शुक्रबार १३:०३ प्रकाशित