पोखरा।
अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । आज बिहान देखि पोखरा आसपासमा पनि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ ।
यो समाचार तयार पार्दा सम्म पर्साको ठोरीमा पछिल्लो केही घण्टामा परेको वर्षामा सबैभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान विभागले जनाएको छ । विभागको मापन अनुसार पछिल्लो २४ घण्टामा पर्साको ठोरीमा १५०.२ मिलिमिटर वर्षा भएको छ।
पोखरामा पछिल्लो केही घण्टामा ६३ मिलिमिटर वर्षा भएको छ । यस्तै कास्कीको लुम्लेमा ७७.८ मिलिमिटर र कास्कीको लामपाटनमा १०.६ मिलिमिटर वर्षा भएको छ ।
नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कुन ठाउँमा कति पानी पर्यो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस