बुबाआमाको हेरचाह नगर्ने सन्तानले अब सम्पत्ति नपाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

वृद्धा अवस्थामा रहेका आफ्ना बुबा आमाको हेरचाह नगर्ने सन्तानले अब सम्पत्ति दाबी गर्न नपाउने भएका छन् ।

सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयनमा ल्याएसँगै जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुको सम्पत्तिमा दाबी गर्न नपाउने भएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै यो ऐन कार्यान्वयनमा आएको छ ।यस ऐन अनुसार बुबा–आमा तथा जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालन पोषणको व्यवस्था गर्नुपर्छ ।

त्यस अवस्थामा जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहको सरकारले उनीहरुको सम्पत्ति आफ्नो स्वामित्वमा लिनेछ । यो सम्पत्ति निज जेष्ठ नागरिकको हक र हितमा परिचालन गर्नुपर्नेछ ।

ऐन अनुसार कुनै पनि व्यक्तिले आफ्ना जेष्ठ नागरिकको पालना नगरेको सम्बन्धमा स्थानीय तहमा उजुरी परेमा स्थानीय तह मातहत रहने न्यायिक समितिले जेष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा पालना पोषण तथा हेरचाह गर्ने नातेदार र हकवालाको जिम्मा लगाउन समेत सक्ने गरी व्यवस्था बनेको छ ।

यसअघि जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा यस्तो प्रावधान थिएन । अब जेष्ठ नागरिक स्वयमःले मात्र नभई टोल छिमेकमा कुनै जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा छिमेकीले समेत स्थानीय तहमा उजुरी दिन सक्ने भएका छन् ।

  • १६ भाद्र २०७९, बिहीबार १५:४३ प्रकाशित