पोखरा ।
विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसंग ओलीकै निवास पुगेर लामो छलफल गरेका छन् । राजतन्त्रको पक्षमा खुलेर लागेका पूर्व अध्यक्ष मिश्र र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली बीचको उक्त भेटलाई निकै चासोका साथ हेरिएको छ ।
भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, केपी ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भएको मिश्रले खुलाएका छन् ।
यसरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका मिश्रलाई केन्द्रखबरले ‘एमालेसंग आफूलाई सहयोगको प्रस्ताव राख्न जानुभएको हो ?’ भनेर प्रश्न गरेको छ । जवाफमा मिश्रले ‘देशको प्रधानमन्त्री भइसकेको व्यक्तित्वसंग सहयोग गर्नुस् भनेर प्रस्ताव राख्नु स्वभाविक हो’ भनेका छन् ।
मिश्रले आफूले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको विषय नै सबै कुरा रहेको बताए । राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, तपाईलाई सहयोग गर्ने विषयमा के के कुरा भयो भन्ने जिज्ञासामा उनले पूर्वप्रधानमन्त्री ओली साकारात्मक सुनिएको प्रतिक्रिया दिए । ‘जे–जे विषयमा कुरा भए, त्यसमा उहाँ सकारात्मक सुनिनुभयो । मैले यत्ति भनेँ’ उनले भने ।
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचन लढ्ने तयारी गरेका मिश्रले आफूलाई एमालेको सहयोग हुने संकेत समेत गरेका छन् । सहयोगको आस्वासान आएको हो कि होइन भन्ने जिज्ञासामा उनले ‘दुई–दुई पटक प्रधानमन्त्री भइसक्नुभएको र एउटा जिम्मेवार पार्टीको अध्यक्ष रहनुभएको व्यक्तिले सहयोग गर्छु भन्नुभयो भनेर यसरी भन्ने कुरा हुँदैन । तर यत्ति भन्छु, उहाँ सकारात्मक हुनुहुन्छ ।’
ओलीसं लिएको तस्बिर पोष्ट गर्दै मिश्रले ‘ओलीजीसँग अढाई घण्टा !
“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छरु” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”
उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२र०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।
सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!’ लेखेका छन् ।













