पोखरा ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपाली कांग्रेससंगको सहकार्य टुट्न पनि सक्ने संकेत गरेका छन् । उनले कांग्रेसको व्यवहारले नै उसंगको सहकार्य रहने या टुट्ने भन्ने निक्र्योल गर्ने प्रतिक्रिया दिए । केन्द्रखबरले ‘सिटबाँडफाँड गर्न गठित कार्यदलले किन काम गर्न सकेन ?’ भन्ने जिज्ञासा राख्दा उनले कांग्रेसको नियत नै बुझ्न नसकिएको जवाफ दिएका छन् । ‘सिटबाँडफाँड गर्न कार्यदल बनाइयो, तर त्यसमा कुनै मोडेल र मापदण्डमा छलफल नै भएन ।’
महासचिव गुरुङले कसले कति सिट लिने भन्ने विषयमा छलफल नै नभएको दाबी गरेका छन् । ‘बाहिर हल्ला आएजस्तो यति सिटमा यो पार्टीको दाबी भन्ने छैन । मोडालिटीका विषयमा त छलफल भएको छैन, कसरी संख्याको विषयमा छलफल हुन्छ ?’ उनले प्रतिप्रश्न गरेका छन् ।
अहिलेसम्म कार्यदल बनाएर सिटबाँडफाँड गर्ने भन्दै अल्झाइएको महसुस् गरेका महासचिव गुरुङले कांग्रेसको नियत नै बुझ्न कठिन रहेको प्रतिक्रिया दिए । ‘कार्यदल बनाइयो, छलफलका नाममा अहिलेसम्मको समय बेथित भयो । तर मोडालिटी बनाएर सिटसंख्या टुंग्याउने विषयमा शीर्ष नेता नै बस्नुपर्छ भनेपछि कार्यदलको के काम ?’ उनले भने, ‘कांग्रेसको नियत बुझ्न सकिएन । अहिलेसम्म हामी कांग्रेससंग नै सहकार्य गर्ने पक्षमा छौं । ढिला भइसकेको छ । अबपनि यसरी धेरै पर्खने समय हाम्रो छैन ।’
महासचिव गुरुङले कांग्रेससंग झुकेर नभई शक्तिकै धरातलीय आधारमा सहकार्य गर्न खोजेको टिप्पणी गरेका उनले अल्मल्याउने नियत राखिएको भए पर्खन नसकिने बताएका छन् । कांग्रेससंगको कुरा छिट्टै टुंगिनुपर्ने अन्यथा अन्यढंगले आफूहरु अगाडि बढ्ने उनले बताए । ‘कांग्रेसले अब छिट्टै निस्कर्षमा पुग्नुपर्छ । ढिलाई भइसकेको छ । हामी धेरै भइसक्यौं । नत्र अन्यढंगले सोच्नुपर्ने हुन्छ । त्यो भनेको कांग्रेस बाहेकका अन्य दलहरु बीचको सहकार्य हुन सक्छ । अथवा गठबन्धनमा रहेका सबै दल स्वतन्त्रढंगले जोसंग पनि सहकार्यमा जान सक्छन्’ उनले भने ।
नेकपा एमालेसंग पनि सहकार्य हुनसक्छ भन्ने जिज्ञासामा उनले अहिलेसम्म सोच नबनेको तर, कांग्रेससंगको सहकार्य टुट्यो भने फरकढंगले सोच्ने समेत बताए । खासगरी एमाले बाहेकका बाम दलहरुसंग छुट्टैढंगले सहकार्य हुने उनको संकेत छ ।













