धनगढी ।
कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्दैछन् ।
एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका हुन् ।
सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् । समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी एमालेमा फर्किने भएका हुन् ।
यी नेताहरुले हालै एमालेका केन्द्रीय नेताको समन्वयमा बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटसमेत गरिसकेको बताउँदै एमाले कञ्चनपुरका एक पदाधिकारीले आपसी समझदारी भइसकेको र औपचारिक रुपमा पार्टीमा प्रवेश गर्न मात्र बाँकी रहेको बताए ।
संविधानसभा सदस्य समेत रहेका कमल क्षेत्री र नेता मोहन गिरी पनि पार्टी प्रवेश गर्दैछन् ।समाजवादी र माओवादीबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएपछि एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।
भेलालाई सम्बोधन गर्न र नेताहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर जाने भएका छन् ।













