कांग्रेसले कन्जुस्याई गरे वामगठबन्धन : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चाबन्दी गरिने बताएका छन् ।

पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि काँग्रेस तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुस्याई गरे विचार मिल्ने गठबन्धनभित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताएका हुन् ।

आगामी चुनावमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुविधा नभएपनि सीट बाँडफाँटका कुरा नमिले प्रचण्डले गठबन्धन भित्रकै दलहरु मोर्चा बन्दी बनाएर जाने बताएको केन्द्रीय सदस्य अनिल शर्माले बताए ।

‘यो चुनावमा सकेसम्म काँग्रेसको तालमेल छुटाउँदैनौ । हामी यो गठबन्धनबाट बाहिर जाने पक्षमा छैनौ’ प्रचण्डको भनाई उदृत गर्दै शर्माले भने, ‘यदि काँग्रेसले निहुँ खोज्यो भने सीट संख्यामा कुरा मिल्दै मिलेन भनेपनि गठबन्धन भित्रकै वामपन्थीहरु बीच तालमेल मोर्चाबन्दी बनाउने छौ । त्यसरी चुनावमा जाँदा पनि हामीले राम्रै नतिजा ल्याउनेगरी तयारी गरेका छौ ।’

गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे ।

  • १२ भाद्र २०७९, आईतवार १७:०१ प्रकाशित