काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । ओलीले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले एमालेसँग एक्लै लड्न डराएर गठबन्धन गरेको भन्दै आलोचना गरे ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा उनले प्रतिवेदनमा भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लडन डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन, यसले उनीहरूको शक्ति, सामर्थ्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धर्मराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ ।’
उनले गठबन्धन एकातिर हुँदा पनि एमालेको पक्षमा जनमत रहेको दाबी गरेका छन् । उनले भनेका छन्,‘हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन् ।’एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटिएको छ ।
यस्तै ओलीले आफ्नो प्रतिवेदनमा बहुमतका लागि आवश्यक वर्ने करिब १६ प्रतिशत मत पार्टीलाई अपुग भएकाले त्यसलाई वृद्धि गर्न ठोस योजनाका साथ अघि बढिने बताएका छन् ।
यस्तै एमाले सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने, नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता योजना पनि आफ्नो प्रतिवेदनमा समेटेका छन् । प्रतिवेदनमा भूराजनीतिक बहाब र सिर्जित नयाँ चुनौती, गठबन्धन सरकारको समीक्षा, चुनावी रणनीतिलगायतको विषय समेटिएको छ ।













