सम्मानका साथ नेता गिरीको अन्त्येष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।

स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तित्व आर्यघाटमा पुगेका थिए ।

उनीहरुले स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । गिरीप्रति श्रद्धा व्यक्त गर्न संघीय सरकारका मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेता गिरीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति आर्यघाटमा रहेको छ।

नेता गिरीको पार्थिव शरीरमा उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए। अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न श्रीमती भारती सिल्वाल गिरी पनि आर्यघाट पुगेकी थिइन् । गिरीको शनिबार राति क्यान्सर रोगका कारण ७५ वर्षको उमेरमा निधन भएको थियो।

 

  • ५ भाद्र २०७९, आईतवार १८:१७ प्रकाशित