पोखरा ।
प्रतिनिधि सभा बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दैछ । नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार पुनर्विचार गर्न ९ पृष्ठको सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन् ।
१५ साउनमा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतवार साँझ प्रतिनिधि सभामै फिर्ता पठाइदिएकी थिइन् । राष्ट्रपति कार्यालयको पत्र सोमबार संघीय संसद सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो ।














