काठमाडौं ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन जनप्रतिनिधीलाई निर्देशन दिएका छन् ।
आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेकाले सोही अनुसार लागिपर्न देउवाले निर्देशन दिएका हुन्।
गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताए ।
‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ’, सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा देउवाले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’














