सम्पत्ति राज्यलाई समर्पित गरिसकें, मसँग उपचार पैसा छैन : केपी ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो जानकारी गराए । आफूजस्तै अन्य नेतालाई पनि सबै श्रीसम्पत्ति राज्यको नाममा समर्पित गर्न उनले सुझाँव दिए ।

आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको ओलीले बताए। “आफ्नो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको छु” उनले भने, “घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था छैन, देशको लागि सम्पत्ति दान गरेको हुँ ।” देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको पनि उहाँले टिप्पणी गरे । देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने पनि उनले प्रतिवद्धता जनाए ।

अध्यक्ष ओलीले आफू युवाभन्दा कम सक्रिय नरहेको दाबी गरे । उनले भने, “भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु ।”

आफू बाचुन्जेल मात्र आफ्नो घरमा आफू र श्रीमती बस्न पाउने उनले चर्चा गरे । “हामी बाँचुन्जेल घरमा बस्छौं, मरेपछि राज्यको हुन्छ” अध्यक्ष ओलीले थपे, “जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु ।”

 

  • २९ श्रावण २०७९, आईतवार १५:४४ प्रकाशित