पोखरा विमानस्थल सञ्चालनको तयारी सुरु, जटिलता भने कायमै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउने १ जनवरी अर्थात १७ पुसबाट सञ्चालन गर्ने तयारी छ । नागरिक उड्ययन प्रधिकरणले यस अगाडि बैठक नै बसेर मिति तय गरिसकेको छ भने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने जानकारी दिएका छन् । अनुगमनका लागि बुधबार पोखरा क्षेत्रीय विमानस्थल आएका उनले विमानस्थल सञ्चालनका लागि तोकिएको मिति अगाबै सम्पूर्ण तयारी सक्ने जानकारी दिएका हुन् ।

विमानस्थलको औपचारिक सञ्चालन अगाडि क्यालिब्रेसन फ्लाइट गर्नुपर्नेछ । त्यो गरेको निश्चित महिनापछि मात्र फ्लाइट गर्नुपर्ने यस्ता आधारहरु छन् । पोखरा विमानस्थलका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख बिक्रम गौतमले अहिले सञ्चालनमा रहेको पोखरा विमानस्थलका कर्मचारीलाई समेत नयाँ विमानस्थलमा सारिने छ ।

पोखरा विमानस्थल निर्माण सुरु हुँदै गर्दा स्वदेशी वायु सेवा कम्पनी वुद्ध एयरले २५ माघ २०७८ मा विमानस्थल सञ्चालनमा आएपछि ५ वटा जहाज पोखरामा राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । त्यसबाहेक अरु विमान कम्पनीले अहिलेसम्म यस्ता घोषणा गरेका छैनन् । गौतमले पहिला प्रोडक्ट कस्तो छ भनेर परिक्षण गरेपछि बल्ल यसका राम्रा पक्षलाई ब्रान्डगरेर विमान कम्पनीहरु आकर्षित गरिने प्रतिक्रिया दिन्छन् । ‘पहिला हामीले गर्ने काम गर्नुप¥यो । विमानस्थलका विशेषता अन्तर्राष्ट्रिय जगतमा फैलाउनु प¥यो । विमान कम्पनी हाम्रो दयामायाँले भन्दापनि आफ्नो फाइदालाई हेर्छन् । त्यसको सुनिस्चित भएपछि पक्कै पनि आउँछन् । त्यो वातावारण हामीले बनाउने हो’ उनले भने ।

विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा राष्ट्रिय अन्तर्राष्ट्रिय एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवनसहित एटीसी टावर तयार भइसकेको छ । यो विमानस्थलमा अहिले नेपाल एयरलाइन्ससँग रहेको ए ३३० न्यारोबडी क्षमताका जहाजहरु उडान–अवतरण गर्न सक्छन् । अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले सोही मापदण्ड अनुसारको फायर फाइटिङ र रेस्क्यू सेवा समेत यहाँ उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विमानस्थलभित्र दर्जनौं निकायको उपस्थिति आवश्यक पर्छ । नागरिक उड्डयन प्राधिकरणको कार्यालयसँगै गृह मन्त्रालय मातहतको अध्यागमन विभाग, अर्थ मन्त्रालय मातहतको भन्सार विभाग पनि अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नुपर्छ । गृह र रक्षा मन्त्रालय मातहतका सुरक्षा निकायले समेत विमानस्थलमा आफ्नो युनिट राख्नुपर्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपालआयल निगमले इन्धन भर्न विमानस्थलभित्र डिपो स्थापना गर्नुपर्छ । यसबाहेक वायुसेवा कम्पनीका कार्यालयहरु विमानस्थलमा रहन्छन् । यी सबै सरोकारवालाको बैठक यसैसाता पोखरा विमानस्थलमा नै बस्ने पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच ८ जेठ २०७१ मा ठेक्का सम्झौता भएको थियो । १ वैशाख २०७३ सालमा शिलान्यास भएको विमानस्थल निर्माणका लागि एक्जिम बैंकले १७ जेठ २०७४ देखि ऋण प्रवाह थालेपछि २७ असार २०७४ देखि काम सुरु भको थियो । चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिुङले निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न गरेको हो ।

२६ असोज २०७८ मा सकिनुपर्ने यो विमानस्थल निर्माणको काम कोरोना महामारीका बेला चिनियाँ कामदार चीनमै रोकिएको र उपकरण ढुवानीमा ढिलाइ भएको कारण देखाएर एक वर्ष पर ढिला सकिएको हो । १२ चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसरमा निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गरिसकेको छ ।

यो विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर ९२७ अर्ब १४ करोड रुपैयाँ० ऋण लिएको छ । २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ ।

ऋण सम्झौता भएको ७ वर्षसम्मलाई ग्रेस पिरियड मानिएको छ र त्यसपछि मात्र नेपालले ऋण तिर्नुपर्नेछ । ऋण सम्झौता भएको आगामी चैतमा ७ वर्ष पूरा हुनेछ । त्यसपछि भने नेपालले वर्षको दुई किस्ता गरी १३ वर्षमा २६ किस्ता गरी ऋण तिर्नुपर्नेछ ।

सम्झौता अनुसार कुल ऋणको २५ प्रतिशतको व्याज भने चीन सरकारले नेपाललाई अनुदान दिएको छ । बाँकी ७५ प्रतिशत ऋणको साँवा र त्यसको २ प्रतिशत ब्याज एक्जिम बैंकलाई तिर्नुपर्छ ।

  • ल्याण्डफिल साइड र डाँडा कटानमा अझै समस्या

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी सुरु भइसकेको भएपनि सञ्चालनमा केही सर्तहरु छन् । त्यसको पहिलो सर्त हो पोखरामा चालु अवस्थामा रहेको ल्याण्डफिल साईड हटाउनु । यो हटाउने दायित्व पोखरा महानगरपालिकाको हो । ल्याण्डफिल साइड सार्ने सबै हिसावले अहिलेसम्म ठाउँ टुंगो लागिसकेको छैन । तर महानगरका मेयर धनराज आचार्य अस्थायीरुपमै भएपनि विमानस्थल सञ्चालनमा आउँदा समाधान निकालिसक्ने बताउँछन् । त्यसका लागि अध्ययन भइरहेको र छिट्टै एउटा टुंगोमा पुगिने उनले बताए ।

अबको पाँच महिनामा विमानस्थल सञ्चालन गर्ने तयारी भइरहँदा ल्याडफिल साइडमा आउने चरा विमानस्थलका लागि जटिल विषय हो । पोखरा वर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरे चराको बानी परिवर्तन गर्न नै ६ महिना लाग्ने बताउँछन् । चराकै समस्या हो भने त्यो अबको पाँच महिनामा सम्भव नहुने उनले बताए । ‘चराको बानी परिवर्तन गर्न नै ६ महिना लाग्छ । अहिलेसम्म ल्यडफिलसाइड हटाउने टुंगो छैन । त्यो ल्यण्डफिल साइडमा आउने चराको समस्या हल भएर कसरी विमानस्थल सञ्चालनमा सहज होला र ? उनले प्रश्ने गरे ।

यसैगरी विमानस्थल सञ्चालनका लागि अर्को जटिलता हो रिट्ठेपानीको डाँडा कटान । आइकाओको मपदण्ड अनुसार विमानस्थल सहज सञ्चालनका लागि रिट्ठेपानीको डाँडा ४५ मिटर कटान गर्नुपर्छ । तर, अहिलेसम्म डाँडा कटानको कामले गति लिन सकेको छैन । बल्ल वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत भएर रुख कटानको काम अगाडि बढेको छ । आयोजना प्रमुख मुनकमी डाँडा कटानको काम क्यालिब्रेसन फ्लाइट सम्म १५ मिटर सकिने र सञ्चालनको बेलासम्म सबै काम पुरा हुने बताउँछन् ।

  • २५ श्रावण २०७९, बुधबार १७:१७ प्रकाशित