काठमाडौँ ।
बजेट आश्रित विद्येयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको हो । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो ।
राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका थिए । एमालेका सांसदहरू राष्ट्रिय सभा अध्यक्षले बैठक सुरु गरेसँगै सिटबाट उठेर विरोध गरेका थिए ।
राष्ट्रिय सभाले दुवै विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाएको छ । ती सन्देश सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले सुनाउने र त्यसपछि प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जानेछन् ।
राष्ट्रिय सभाको अर्को बैठक असोज १७ गते १ बजेका लागि बोलाइएको छ ।