काठमाडौं ।
औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक भरत भट्टराईले बताए ।
महानिर्देशक भट्टराईले औषधिको मूल्य समायोजनका लागि विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फाइल पठाएको जानकारी दिए । विभागका सूचना अधिकृत सन्तोष केसीले विभगाले पठाएको फाइलबारे मन्त्रिपरिषदबाट निर्णय भएमा औषधिको मूल्य समायोजन हुने बाटो खुल्ने बताए ।
उनले भने, “औषधिको मूल्य समायोजनको फाइललाई मन्त्रालयले कार्यविधी बनाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट निर्णय भएको खण्डमा औषधिको मूल्य समायोजन हुने बाटो खुल्छ ।”
विभागका अनुसार करिब सातवर्ष यता कुनै पनि औषधिको मूल्य समायोजन गरिएको छैन । सरकारले यसभन्दा अघि २०६४ सालमा २२ प्रकारका औषधि र २०७३ सालमा ९६ प्रकारका औषधिको मूल्य तोकेको भट्टराईको भनाइ छ ।
तर, बजारमा अत्यावश्यक सिटोमोल र जीवनजलको मूल्य वृद्धि हुन लाग्यो भन्दै धेरैले विरोध गर्दैआएका छन् । औषधि समायोजनका क्रममा औषधिको मूल्य बढ्ने मात्र नभई धेरै औषधिको मूल्य घटने भट्टराइले जानकारी दिए ।
औषधिको मूल्य समायोजन हुँदा बजारमा चलेको हल्लाभन्दा फरक ८० प्रतिशत औषधिको मूल्य घट्ने र २० प्रतिशत औषधिको मूल्य मात्र बढ्ने भट्टराईले बताए । उनले भने, “धेरैले मूल्य समायोजन भनेको मूल्यवृद्धि हो भन्ने बुझेका छन्, मूल्य समायोजनले ८० प्रतिशत औषधिको मूल्य घट्ने सम्भावना छ भने २० प्रतिशतको मात्रै मूल्यवृद्धि हुन्छ ।”
उनले थपे, “पछिल्लो सयम औषधिको मुल्यमा अन्तर्राष्ट्रिय बजार घटबढ् भएको छ । अन्तर्राष्ट्रिय बजारमा दैनिक रुपमा उपभोग गर्दैआएका क्यान्सर, मधुमेहलगायतका रोगका औषधिको मूल्य घटेको छ । हाम्रोमा मूल्य समायोजन नभएर घटाउन सकिएको छैन । त्यसैले औषधिको मुल्य समायोजन गर्न आवश्यक छ ।”
नेपाली बजारमा एउटै कम्पनीका औषधिका मूल्य भिन्नाभिन्नै रहेको छ, औषधिको मूल्यमा एकरुपता ल्याउन समायोजन अतिआवश्यक रहेको उनले चर्चा गरे । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा स्वदेशी औषधि उत्पादक कम्पनीले सस्तो दरमा औषधि उत्पादन गर्न नसक्ने अवस्था सिर्जना हुने भएकाले समायोजन आवश्यक भएको सरोकारवाला निकाय बताउँछन् ।
वर्षौंदेखि जीवनजललगायतका औषधिको मूल्य नबढेकाले केही कम्पनीले जीवनजल उत्पादन गर्दा घाटा भएको भन्दै नेपाल औषधि उत्पादक सङ्घले औषधिको समायोजन गर्ने माग गर्दैआएको छ ।
भारतलगायत अन्य देशमा औषधिको मूल्य हरेक ६–६ महिनामा समायोजन गरिने उनको भनाइ छ । पछिल्लो समय औषधि आयात गर्ने र स्वेदशमै उत्पादन गर्नेहरु पनि औषधिको मूल्य समायोजनको पक्षमा रहेको उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनको रिफ्रेन्स मूल्यलाई आधार मानेर मूल्य नवीकरण गर्दैआएको उनले जानकारी दिए । विदेशबाट आयात हुने औषधिको मूल्य कन्ट्री अफ ओरिजिन र खुद्रा मूल्यका आधारमा समायोजन गरिने छ ।
उनले भने, “विभागले मूल्य निर्धारण नगरिएका औषधिको कम्पनी र ब्रान्डका आधारमा मूल्य तोक्ने गर्छ । यस्तै, नेपालमा उत्पादन हुने अनि विदेशमा उत्पादन हुने औषधिको मूल्य पनि ब्रान्डका आधारमा निर्धारण गरिन्छ ।”
विभागले दर्ता भएका ११ हजार आठसय १२ प्रकृतिका औषधिमध्ये जम्मा एकसय १७ प्रकृतिका औषधिको मात्रै मुल्य निर्धारण गरेको छ । औषधि परामर्श परिषद् औषधि सल्लाहकार समिति गठन नियमावली २०७० मा औषधि परामर्श परिषद् गठन गरी औषधिको मूल्य निर्धारण गर्ने जिम्मेवारी दिइएको छ ।














