पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन जोगाउन सत्ता गठबन्धनका दुई प्रमुख घटक दिल्ली दौडाहमा गएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा पत्नि समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवा बीच दील्लीमा भेटवार्ता भएका तस्बिर सार्वजनिक भइरहँदा उनले यस्तो टिप्पणी गरेका हुन् ।
आइतबार बिहान पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गठबन्धन कायम राख्ने नराख्ने भनेर बाहिर छलफल गरिन थालेपछि यो भन्दा लाचार के हुन्छ भन्दै प्रश्न समेत गरे ।
‘अब त गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषय पनि बाहिर बसेर छलफल हुने स्थिति आएको छ भने यो भन्दा राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा यो भन्दा अर्को लाचारी के हुनसक्छ ? यतिबेला गठबन्धनका दुई प्रमुख घटकका नेताहरु दिल्ली दौडाहामा हुनुहुन्छ । नेपाली राजनीतिलाई नेपाली जनताको बीचमा राख्ने मान्यतालाई खण्डित गर्नुभएको छ ’ उनले भने ।














