नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् ।

शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए ।

अध्यक्ष दाहालले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे ।

‘‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो ।,’’ अध्यक्ष दाहालले भन्नुभयो, ‘‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई–तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’’

अध्यक्ष दाहाल शुक्रबार दिउँसो भारत प्रस्थान गरेका थिए । दाहालले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नेछन् ।

आज बिहान अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन् । अध्यक्ष दाहालले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।

  • ३२ असार २०७९, शनिबार १४:१६ प्रकाशित