पोखरा ।
गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पहिलो पटक प्रदेशसभाको रोष्ट्रममा बोलेका छन् । आर्थिक वर्ष २०७९–८० को बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको बुधबार उनले जवाफ दिएका हुन् ।
मन्त्री मनाङेले सांसदले रोष्ट्रममा उभिएर आफ्नो गुनासो सुनाएका छन् । सांसदले उठाएका प्रश्नको जवाफ भन्दा बढी उनले आफ्ना गुनासो सुनाएका हुन् ।
मन्त्री मनाङेले आफूलाई संसदबाहिरै सोध्नुपर्ने र दिनुपर्ने सल्लाह प्रदेशसभामा दिएको र मन्त्रालयमा बजेट कम भएका कारण सचिवहरु फेरिएको फेरियै गरेको गुनासो गरे ।
गण्डकी प्रदेशसभाको बजेटमा प्रदेशसभा सदस्य धनमाया लामा, दिलमाया रोकालगायतले प्रश्न उठाएका थिए । चालु आर्थिक वर्षमा युवा तथा स्वरोजगार कार्यक्रमअन्तर्गत ५ करोड रुपैयाँ कार्यान्वयनमै नआई फिर्ता भएको भन्दै जसपा सांसद लामाले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको २ करोड ५० लाखको योजनाबारे प्रश्न उठाएकी थिइन् ।
लामाले उठाएको प्रश्नमा जवाफ दिँदै प्रदेशका खेलकुदमन्त्री मनाङेले अघिल्लो पटक सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेकाले खर्च गर्न नसकेको र आगागी आर्थिक वर्षमा भने कार्यान्वयन हुने दाबी गरे ।
मन्त्री मनाङेले अन्य मन्त्रालयभन्दा आफ्नो मन्त्रालयलाई थोरै बजेट दिएको भन्दैे दुखेसो गरे । मन्त्री मनाङेले आफ्नो मन्त्रालयलाई पर्यटन मन्त्रालयले ५ लाख रुपैयाँ मात्र छुट्याएको बताए ।
मन्त्री मनाङेले बजेट थोरै भएकै कारण बनाएका खेल मैदानको स्तरोन्नति गर्न नसकेको बताए । मन्त्री मनाङेले आफ्नो मन्त्रालयमा ७ महिनाको अवधिमा ५ जना सचिव फेरिएको गुनासो गरे । कतिपय सचिव भेट्न नपाउँदै सरुवा हुने गरेको उनले बताए ।














