काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् ।
भानु जयन्तीको अवसरमा बुधबार बिहान काठमाडौंमा प्रभातफेरी सहितको शोभा यात्रा समेत गरिएको छ । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौंको सहकार्यमा प्रभातफेरी सहितको शोभा यात्रा कार्यक्रम गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रभातफेरी रथ शोभा यात्राको शुभारम्भ गरेका थिए ।
शोभा यात्रामा विभिन्न विभागका प्राज्ञा परिषद् सदस्यहरु, सशस्त्र प्रहरीको ब्याण्ड बाजा, नेपाल प्रहरीको ब्याण्ड, नेपाली सेनाको व्याण्ड, नेपाल स्काउट, सप्र बल नेपाल बागभैरब गुल्मको टोली, नेपाल प्रहरीको टोली, स्कुलका विधार्थीहरु प्लेकार्ड बोकेर सहभागी भएका थिए ।
प्रभातफेरी तथा शोभा यात्रा नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भई कमलादीमोड, पुतली सडक, बागबजार, रणदिप पुल, शान्ति बाटिका, भोटाहिटी चोक, दरबार हाईस्कुल, जमल, त्रिचन्द्र कलेज, कमलादी गणेशथान हुँदै पुनः नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर समापन भएको थियो ।














