आमा-बुवाका नाममा स्थापित ट्रष्टलाई पैसा नलिने मन्त्री श्रेष्ठको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले आफ्ना स्वर्गीय बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि बजेट छुट्याउने निर्णय फिर्ता गरिने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो राजनीति सधैं जनताको सेवाको लागि, कर्म समाज विकासको लागि रहेको भन्दै गल्ति भएको भए माफी दिन र सच्चिने मौका दिन समेत आग्रह गरेका छन् ।

गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै आफ्नो बारेमा विभिन्न भ्रम सृजना भएको उल्लेख गर्दै उनले आफू उक्त विषयमा गम्भिर रहेको लेखेका छन् । मन्त्री श्रेष्ठले आफ्ना बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्याइएको शिर्षकको बजेट आगामी वर्षको वजेटवाट हटाई स्रोत व्यवस्थापन नगर्न समेत अर्थमन्त्रीलाई आग्रह गरेका छन् । ‘…विषयमा अत्यान्त गम्भीर छु, मेर‍ो स्व.पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टको उद्देश्य जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो ।

यो संस्था विगत १२ वर्ष देखि सन्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रष्टलाई समाजमा रहेका त्येस्ता बर्गहरुको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर वजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । आज समाजिक संजालमा एकाएक आएका टिप्पणीले गम्भीर बनेको छु । यो शिर्षकको बजेट आगामी वर्षको वजेटवाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सधै जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको ईमान्दार सिपाई हो । मेरो वुवा आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु यो फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना गर्दछु । जय जेपाल’ लेखेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापिताको नाममा स्मृति कोष, कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन, पर्वतका कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन प्रदेश सरकारले बजेट व्यवस्था गरेको सार्वजनिक भए लगत्तै  सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको छ ।

  • २६ असार २०७९, आईतवार ०७:५३ प्रकाशित