पोखरा ।
पोखरा उपत्यका नगरविकास समितिले पर्यटकीय बसपार्क, कल्फ कोर्स, र यातायात कार्यालय पछाडीको जग्गा भाडामा लगाएको प्रकरणको विषयमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
शनिबार विहान समितिका अध्यक्ष एवं पोखरा महानगरका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको समितिको बैठकले मालपोत कार्यालय कास्कीका प्रमुख दीनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनका अनुसार समितिले एक हप्ताभित्र यस सम्बन्धी प्रतिवेदन दिनेछ । पर्यटकीय बसपार्कसहित तीन वटै जग्गामा ठेक्कामा लिएका कम्पनी र व्यक्तिलाई अर्को निर्णय नभएसम्मका लागि काम अगाडि नबढाउन पत्राचार गर्ने निर्णय भएको छ ।
समिति सदस्य एवं वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बरालले आफूहरुले पाएको समयमै अध्ययन गरेर जनताको अपेक्षा अनुरुपको प्रतिवेदन पेश गर्ने जानकारी दिए । निवर्तमान मेयर जिसीले आफ्नो कार्यकाल सकिनु ४८ घण्टा अघि जेठ ३ गते बन्द भइसकेको पोखराको एक पत्रिकामा सूचना निकालेर समितिका सदस्यहरू तथा कर्मचारीलाई समेत थाहा नदिई बहुमूल्य जमिन आफ्नै ज्वाइँका भाइ र नजिकका ठेकेदारलाई सस्तो मूल्यमा १० देखि २५ वर्षसम्मका लागि भाडामा सुम्पिएका थिए ।
स्थानीय तहको नयाँ निर्वाचन सम्पन्न भई उपत्यका नगर विकास समितिकै कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना चलिरहँदा मेयर जिसीले आफैँले सम्झौता गरेर जिसीले पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय नजिकै रहेको ५ रोपनी जग्गा, राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कको १८ रोपनी जग्गा र गल्फ तालिम केन्द्रको ४० रोपनी जग्गा ठेक्कामा दिलाएका हुन् ।
समितिका तर्फबाट मेयर आफैले हस्ताक्षर गर्दै पृथ्वीचोकमा रहेको ट्रायल दिने स्थानको करिब ५ रोपनी जग्गा राइजिङ प्रालिलाई १० वर्षका लागि ठेक्कामा दिलाएका हुन् । प्रतिमहिना १ लाख ३५ हजार रुपैयाँ भाडा बुझाउने गरी सवारीसाधन पार्किङ गर्ने तथा सटर बनाई भाडामा लगाउने प्रयोजनका लागि दिइएको ठेक्कामा राइजिङका तर्फबाट गिरबहादुर पुनको हस्ताक्षर छ ।
त्यस्तै १८ रोपनी जग्गा रहेको पोखरा पर्यटन बसपार्कको ठेक्का पोखरा महानगरको मातहतमा नआउँदै मासिक दुई लाख ७५ हजार रुपैयाँ भाडा लिने सहमति गरी जिसीले हस्ताक्षर गरेर शिला शालिग्राम निर्माण सेवालाई भाडामा दिनुभएको छ । सम्झौतामा शिला शालिग्राम निर्माण सेवा प्रालिका तर्फबाट छविलाल कुँवरको हस्ताक्षर छ । संघीय सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बनाएको यो बसपार्क असार २२ गते बुधबार मात्रै पोखरा महानगरलाई हस्तान्तरण भएको थियो ।
त्यस्तै २५ वर्षका लागि भाडामा लगाएको ४० रोपनी क्षेत्रफलमा रहेको गल्फ कोर्सको ठेक्का एक्सन बिल्डर्स प्रालिलाई दिइएको छ । मासिक २ लाख ७२ हजार रुपैयाँ भाडा बुझाउने गरी भएको ठेक्का सम्झौतामा विल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले हस्ताक्षर गर्नुभएको छ । भण्डारी जिसीका छोरी ज्वाइँका सहोदर भाइ रहेको खुलेको छ । बसपार्कको जग्गा भाडामा लिने शिला शालिग्राम समेत भण्डारीकै मातहत रहेको बताइएको छ ।
नगर विकासको तर्फबाट ३ वटै सम्झौतामा अशोक सुनार र रामजी जिसी साक्षी बसेका छन् । जग्गा भाडामा लगाइएकोबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि निवर्तमान मेयर जिसीले बुधबार विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप निराधार भएको बताएका थिए ।