पोखरा महानगरपालिकाका पूर्व मेयर मान वहादुर जि.सी.ले आफ्नो कार्यकालको अन्तिम समयमा पोखराका विभिन्न ठाउँका करिव ६३ रोपनी जग्गा अपारदर्शी ढंगले ठेक्कामा लगाईएका भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस कास्कीले बताएको छ ।
कांग्रेस कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै दुरासय युक्त मनसायले ठेक्का सम्झौता गरि सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘भर्खरै सम्पन्न स्थानीय निर्वाचनको मौन अवधि शुरु हुनै लाग्दाको समयमा निर्वाचन आचार संहिता विपरित स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी पोखरा उपत्यका नगर विकास समितिको कार्यालयका जिम्मेवार व्यक्तिहरुलाई रोहवरमा राखी ३ वटा प्रतिस्पर्धी कम्पनीहरुलाई झुट्टा विवरण तयार गरी दुरासययुक्त मनसायले भएको ठेक्का सम्झौताको प्रकरणले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको छ ।’
कांग्रेसले सरकारी जमिनहरु विना योजना दुरुपयोग गरी सम्झौता गरिएको ठेक्का सम्झौता तत्काल खारेज गर्न माग गरेको छ ।ठेक्का सम्झौताको सत्य तथ्य सार्वजनिक गरी सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्न कांग्रेसले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ।















